बाजुरामा भारी बर्षा र हिमपात, जनजीवन प्रभावित

Posted on: 03 Jan, 2020

पुस १८, बाजुरा | बाजुरामा बिहीबार अपराह्नदेखि दोस्रोपटक भारी हिमपात र वर्षा भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा भारी हिमपात भएको छ । 

हिमपातसँगै तल्लो क्षेत्रतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको छ । 

चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आङ्शिक रूपमा बन्द छन् । हिमाली क्षेत्रमा भारी हिमपातले बाहिर निस्कनसमेत समस्या भइरहेको गौमुलका रामबहादुर बुढाले जानकारी दिएका छन् ।

चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् । 

चिसोले हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोटलगायतका क्षेत्रमा विद्यालय बन्द छन् भने स्थानीयवासीलाई दैनिक कामकाज गर्नसमेत समस्या भएको छ । अहिले बाजुराको तापक्रम शून्य डिग्री तापक्रम छ । यसअघि मङ्सिर दोस्रो साता पनि बाजुराको सदरमुकामसम्मै भारी हिमपात भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!