पारिश्रमिक माग्दा गोली खाएका श्रमिकको उपचार खर्च सरकारले व्यहोर्यो

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौं । सरकारले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार सिएमसीसँग पारिश्रमिक माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागि घाइते भएका दुई श्रमिकको उपचार खर्च सरकारले व्यहोरेको छ ।

गत पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा घाइते भएका आयोजनामा मजदूर बालमुकुन्द अधिकारी र सन्तोष चौधरीको हालसम्मको उपचारखर्च बापतको रु १ लाख ४६ हजार ५४६ व्यहोर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

इटालीयन निर्माण व्यवसायी सिएमसीसँग पाउनुपर्ने पारिश्रमिक माग गर्दै आन्दोलनमा उत्रेका श्रमिकमाथि गत भदौ १९ गते प्रहरीले गोली बर्साएको थियो । प्रहरीको गोली लागि अधिकारी र चौधरी गम्भीर घाइते भएका थिए ।

उनीहरुको हातमा गोली लागेको थियो । चौधरी र अधिकारीको क्षेत्रीय स्वास्थ्य चौकी मेलम्चीमा उपचार भइरहेको छ। पारिश्रमिक भुक्तानी माग गर्दै मेलम्ची खानेपानी आयोजनाविरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गोली प्रहार भएको थियो ।

आयोजनाको मुहानस्थलमा रहेको अम्बाथानको सुरक्षापोष्ट पार गर्दै करिब ३०० को संख्यामा सहभागी आन्दोलनकारी मुहान क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो । यस्तै सरकारले विदेशस्थित नेपाली नियाेगमा काम गर्ने स्थानीय कर्मचारीकाे पारिश्रमिक वृद्धि गर्ने निर्णयसमेत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!