इँटा उद्योगको पोखरीमा डुबेर बालिकाको मृत्यु

Posted on: 25 Jan, 2020

माघ ११, काभ्रेपलाञ्चोक (रासस) । पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर अपराह्न एक बालिकाको मत्यु भएको छ । उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घरदेखि करीब ३०० मिटरको दूरीमा साथीसँग खेल्ने क्रममा नजिकै रहेको उद्योगको पोखरीमा लडेर डुब्दा कृष्टिनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो करीब पौने चार बजे पोखरीमा डुबेकी कृष्टिनालाई उनकी आमाले उपचारार्थ बनेपास्थित शिर मेमोरियल अस्पतालमा पु¥याएलगत्तै मृत घोषणा गरिएको हो । 

यसैगरी पाँचखालबाट धुलिखेल आउँदै गरेको बा८५प ६०२६ नंको मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठको आज दुर्घटनामा मृत्यु भएको छ । सोही दिशाबाट आइरहेको बा४ख ११४५ नंको टिपरले अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५, ३७ किलो भन्ने स्थानमा ठक्कर दिँदा गम्भीर घाइते श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

दुर्घटनामा टाउको र कम्मरका गम्भीर चोट लागी घाइते मोटरसाइकलमा सवार रामेछापको सालु देउराली गाउँपालिका–२ का २८ वर्षीय समर मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!