इजरायली क्षेप्यास्त्रबाट सिरियामा छ जनाको मृत्यु

Posted on: 24 Feb, 2020

फागुन १२, जेरुसलेम (रासस-एएफपी) । गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ । 

युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई हमला गरेको हो ।

आगामी मार्च २ तारिखमा इजरायलमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा इजरायली सेनाले जिहादी लडाकू विरुद्ध कडा कारबाही थालेको हो । सेनाले जारी गरेको वक्तव्यमा इजरायली वायु सेनाले गाजादेखि सिरियाली राजधानी दमास्कस नजिकसम्म पुगेर आक्रमण गरिएको उल्लेख छ ।

इस्लामिक जिहादी समूहले हमाससँग मिलेर इजरायल विरुद्ध सन् २००८ यता तीन पटक युद्ध लडिसकेको छ । यो समूह गाजापट्टी र सिरियामा सक्रिय छ ।

सिरियाली राष्ट्रपति बसार अल–असादसँग निकट सम्बन्ध रहेको यस समूहले इजरायली आक्रमणमा आफ्ना दुई लडाकूको मृत्यु भएको पुष्टी गरेको छ । 

सन् २०११ मा सिरिया द्वन्द्व शुरु भएयता मात्र सिरियामा इजरायलले सयौं पटक हवाई आक्रमण गरिसकेको छ । यी आक्रमणहरु मुख्य रुपमा सिरियाली सेनाका साथै इरान समर्थित लडाकू विरुद्ध लक्षित रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!