चीनमा कोरोना पीडित थप ५२ जनाको मृत्यु

Posted on: 26 Feb, 2020

बेइजिङ, फागुन १४ (रासस-एएफपी) – चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५ जना पुगेको छ । 

पछिल्लो समय मृत्यु भएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार ४०१ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएको पनि जनाएको छ ।

चीनमा हालका दिनहरूमा नयाँ सङ्क्रमित व्यक्तिको संख्या घटेको देखिएको छ, र चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी बिल्कुलै देखिएका छैनन् । 

हुबेई प्रान्त बाहिर पाँच जनामा मात्र कोरोना देखिएको थियो, र यो एक महिनाको अवधिमा सबैभन्दा कम हो । तर हुबेईको राजधानी उहानमा गत वर्षको अन्त्यतिर शुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई सङ्क्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौं देशहरूमा फैलिइ सकेको छ । 

दक्षिण कोरियामा मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११ जना पुगेको छ र सङ्क्रमितको संख्यामा वृद्धि भएर एक हजार १४६ पुगेको छ । चीन बाहिर यतिठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो । कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत एक सैनिकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ । 

करिब १० जनाको मृत्यु र ३०० भन्दा बढीमा सङ्क्रमण देखिएको इटालीले ११ वटा शहरमा आवातजावत बन्द गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले योक्रम केही हप्तासम्म जारी रहन सक्ने बताउनुभएको छ । 

नानजिङ शहरका अधिकारीहरूले सियोलबाट मङ्गलबार आइपुगेको बिमानमा सवार तीन जनालाई ज्वरो आएपछि ९४ जनालाई क्वारेन्टाइनमा राखेको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!