'सहरबाट गाउँ गएकाहरुले मानेनन् लकडाउन'

Posted on: 28 Mar, 2020

अनिल अधिकारी | चैत १५, काठमाडौँ | धादिङको ज्वालामुखि गाउँपालिकाका बिभिन्न वडाहरुमा लकडाउन अवज्ञा भएको गुनाशो आएका छन् । यस विषयलाई स्थानीय जनप्रतिनिधिहरुले समेत स्वीकार गरेका छन् । 

'केहि व्यक्तिहरु गाउँमा कोरोना नआएको भन्दै ढुक्कले बाहिर निस्किएका छन्, हामीले भीड-भाड गरेको भेटेसम्म त्यसरी भीडभाड नगर्न भन्दै चेतावनी दिएका छौं । गाउँपालिकाले यस सम्बन्धमा केहि कडा कारवाहीको नीति लिनु आवश्यक देखिएको छ' एक जनप्रतिनिधिले भने । सरकारले देशभर पाँच दिनदेखि अत्यावश्यक काममा बाहेक अन्य समय घरबाट बाहिर ननिस्कन निर्देशन दिएको अवस्थामा बिना काम जमघट गरेको, लुकीछिपी जम्मा भएर तास खेलेको लगायतका गुनाशोहरु आएका छन् ।

त्यस्तै भारत लगायत तेश्रो मुलुकबाट आएकाहरुले स्थानीय तहको निर्देशन समेत नमानेको भन्ने गुनाशो छ । विदेशबाट आएकाहरु कम्तिमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेमा खुलमखूला हिडीरहेको बताइएको छ । 

कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न प्रहरीले कडाइ नगरेको र प्रहरी तथा जनप्रतिनिधिहरुले समेत सम्झाई बुझाई छाडेको हुनाले अबज्ञा भएको बुझिएको छ । लकडाउन घोषणाको पाँचौं दिन पनि अत्यावश्यकबाहेकका मानिसको आवतजावत भित्री तथा मुख्य सडकमा समेत नरोकिएपछि कडाई आवश्यक रहेको स्थानीय जनप्रतिनिधिहरुको धारणा छ । लकडाउनको अबज्ञा मुख्यत: सहरबाट गाउँ आएकाहरुबाटै भएको एक जनप्रतिनिधिले बताए । लुकिछिपि तास खेल्ने, क्यारिमवोर्ड खेल्ने जस्ता क्रियाकलाप भएका छन् । घरमै बसेर लकडाउनको निर्देशन पालना गर्न, अनावश्यक भीड-भाड नगर्न आग्रह गरिएको गाउँपालिकाले बताएको छ । 

कतिपय युवाहरुले लकडाउन गर्न पर्नुको कारण नबुझेको कारण लकडाउनको अवज्ञा गरेको भएपनि कतिपय जान्ने-बुझ्नेले समेत गाउँमा कोरोना संक्रमण भएको छैन भन्दै अबज्ञा गरेका छन् । व्यक्ति-व्यक्तिबीच दुरी नबनाउदा र सावधानी नअपनाएको खण्डमा एक जना कोरोना संक्रमितले सिंगो गाउँ र देशनै भाइरस संक्रमणको जोखिममा पर्ने बिज्ञहरुले बताईरहँदा कोहि संक्रमित छैनन् भन्दै लकडाउनको अबज्ञा भएको छ ।

गत चैत १० गते ज्वालामुखी गाउँपालिकाले कोरोना भाइरसबाट बच्नको लागि बिभिन्न निर्णयहरु गरिसकेको छ । जसमा केन्द्रिय सरकार र जिल्लाबाट भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्ने निर्णय भएको छ । त्यसो त बिभिन्न समिति निर्माण गरि त्यसको व्यावस्थापनको लागि जिम्मेवारी समेत तोकिएको छ । पालिकाले यस सम्बन्धमा बिभिन्न १९ निर्णय गर्दै गाउँपालिकामा कोरोना नियन्त्रणको प्रयास गरेको छ तर कोरोना भाइरस नियन्त्रणको सबैभन्दा प्रभावकारी कदम मानिएको 'लकडाउन' अवज्ञा हुँदा त्यसमा कडाई नहुने हो भने कोरोना विरुद्धको अभियान असफल हुने देखिएको छ । 

हेर्नुहोस् चैत १० गते भएका निर्णयहरु:



यस बिषयमा तपाइको प्रतिक्रिया...!