शक्तिशाली चक्रवात निसर्ग प्रभाव : नेपालमा भारी वर्षा हुने अनुमान

Posted on: 04 Jun, 2020

जेठ २२, काठमाडौं। अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विनाशकारी हावाहुरी नलाग्ने, तर मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागको पूर्वानुमान छ । अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’नाम दिइएको छ । नेपाली समयअनुसार बुधबार दिउँसो पौने तीन बजेतिर भारतको महाराष्ट्र राज्यको तटिय क्षेत्रमा शक्तिशाली चक्रवातको रुपमा ठोक्किए पनि नेपालतर्फ वहने क्रममा यो कमजोर भइसकेको छ । कुनै पनि चक्रवात जमिनमा ठोक्किएपछि कमजोर हुन्छ ।

त्यसैले निसर्ग चक्रवातको प्रभाव भारतमा जस्तो शक्तिशाली नेपालमा हुँदैन । यद्यपि यसको प्रभाव बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको भन्दा बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ । निसर्ग चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने छ । शनिबारसम्म नेपालका अधिकांश स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षासमेत हुने छ  ।

उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने, नदीमा पानीको वहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडि भूभागमा पहिरोको समेत जोखिम हुने पूर्वानुमानसमेत गरिएको छ । निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा देखिइसकेको छ । त्यसैको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेश बाहेक बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!