चन्द्रागिरि नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान

Posted on: 20 Jun, 2020

असार ६, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नौ जना अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । चन्द्रागिरि नगरपालिका–११ले आज बिहान आफ्नो वडामा रहेका शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति र वृद्धवृद्धालाई विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय सतुङ्गलमा सम्मान गरेको हो । 

चन्द्रागिरि नगरपालिका–११ का अध्यक्ष हरिभक्त महर्जनले नेपालमा दिनानुदिन बढ्दै गएको कोभिड–१९ का कारण समस्यामा परेका अपाङ्ग व्यक्ति र ज्येष्ठ नागरिकलाई सम्मान तथा सहयोग गरिएको जानकारी दिनुभयो । उक्त वडाले शारीरिकरुपमा अपाङ्ग भएका व्यक्तिलाई सिरक, डसना, लगाउने कपडा, प्रेसर कुकर, पङ्खा, छाता, माक्सलगायत सामग्री सहयोगसमेत गरेको छ । यस्तै, ज्येष्ठ नागरिकलाई भने कन्फ्लेक्स, बिस्कुट, माक्स र छाता वितरण गरेको छ । 

अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले ज्येष्ठ नागरिकले प्राप्त गरेको अनुभव र ज्येष्ठ नागरिकले समाजमा पु¥याएको योगदानलाई आगामी पुस्तालाई चिनाउनु जरुरी रहेको उल्लेख गर्नुभयो । ज्येष्ठ नागरिक समाजको सम्मानित व्यक्ति भएको उहाँको भनाइ थियो । चन्द्रागिरि नगरपालिकाको ११ वडामा सतुङ्गल क्षेत्र पर्दछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!