थप ६२९ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित पुगे १० हजार ७२८

Posted on: 24 Jun, 2020

असार १०, काठमाडौँ | नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५१९ पुरुष र ११० महिला गरी कुल ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १० हजार ७२८ पुगेको छ । तीमध्ये एक हजार ९४ महिला र नौ हजार ६३४ पुरुष छन् । 

एकैदिन ११४ जना डिस्चार्ज

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये आठ महिला र १०६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ३३८ पुगेको छ । 

आज डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र १८ पुरुष, कोभिड–१९ अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट तीन पुरुष रहेका छन् । यस्तै चितवनस्थित भरतपुर अस्पतालबाट नवलपरासी (पूर्व)का एक पुरुष र नवलपरासी (पश्चिम)का दुई पुरुष, चितवनका पाँच महिला र १३ पुरुष, कपिलवस्तुका एक महिला रहेका छन् । 

यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका चार पुरुष, मोरङका १८ पुरुष, सुनसरीका एक महिला र चार पुरुष तथा तेह्रथुमका एक पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा दमौली अस्पताल तनहुँका एक पुरुष, धौलागिरि अस्पतला बाग्लुङका चार पुरुष, गोरखा अस्पताल गोरखाबाट एक पुरुष, जिपी कोइराला शुक्लागण्डकीबाट छ पुरुष र कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष रहेका छन् । 

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई हजार ३३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १९७ महिला र दुई हजार १४१ पुरुष छन् । पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट छ हजार ८२८ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा १२ हजार ११२ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ७८ हजार ६३९ जना क्वारेन्टिनमा र आठ हजार ३६६ जना आइसोलेशनमा रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!