अमेरिकामा दुई करोड सङ्क्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान

Posted on: 26 Jun, 2020

असार १२, (रासस/एपी) । अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका हुन् ।  

स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमित भइसकेको हुनसक्ने अनुमान गरेका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्रले सङ्क्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी हुनसक्ने पनि जनाएको छ ।

सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सास राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो तथ्य सार्वजनिक भएको हो ।

अमेरिकामा अहिलेसम्म संसारकै सबैभन्दा धेरै २४ लाख जना सङ्क्रमित भएको तथ्यांक रहेको छ । त्यसैगरी हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको अमेरिकामा कोरोनाका कारण मृत्यु भएको छ । 

देशका दक्षिणी र पश्चिमी केही राज्यहरूमा पछिल्लो समय अत्यधिक धेरै मानिस सङ्क्रमित भएको विवरण सर्वाजनिक भएका छन् । यस बारेमा अध्ययन अनुसन्धान गरिरहेका वाशिङ्गटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।

उनीहरुले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा त्यो सख्या १ लाख ४६ हजारमा सिमित हुन सक्ने अनुमान पनि गरेका छन् । रोग नियन्त्रण केन्द्रका निर्देशक डा रोबर्ट रेडफिल्डले अहिले जति सङ्क्रमितको तथ्यांक सार्वजनिक भएको छ, ती हरेकबाट अन्य दश जनाको दरले सङ्क्रमित भएको हुनसक्ने देखिएको बताउनुभयो । 

अहिलेसम्म लक्षण देखिएका र चासो देखाएकाहरुलाई मात्रै कोरोना परिक्षण गर्ने गरिएकाले सङ्क्रमितको संख्या अहिले सार्वजनिक भएको भन्दा दश गुण हुनसक्ने अनुमान गरिएको उहाँको भनाई छ । 

यसरी हेर्दा अमेरिकाका पाँचदेखि आठ प्रतिशतसम्म मानिसलाई कोरोनाभाइरसले असर गरिसकेको हुनसक्ने देखिएको छ । 

सङ्क्रमणको क्रम तिब्र गतिमै रहेकाले सामाजिक दुरी कायम राख्ने, मास्क, पञ्जा र सेनिटाइजर लगाउने, हात धुनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताका कार्यहरु गर्न स्वास्थ्य अधिकारीहरुले आह्वान गरेका छन् ।

पछिल्लो समयमा हेलचक्रयाई पनि बढ्दै गएकाले मानवीय क्षति अझ धेरै हुनसक्ने भन्दै उनीहरुले चिन्ता पनि व्यक्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!