भारतमा टिकटकसहित ५९ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी

Posted on: 30 Jun, 2020

असार १६, नयाँदिल्ली (रासस–एएफपी) । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ । 

भारतका टिकटक प्रमुख निखिल गान्धीले एक विज्ञप्ति प्रकाशन गरी टिकटकले भारतीय कानुन बमोजिम प्रयोगकर्ताका सबै तथ्याँक विवरणलाई सुरक्षित राखेको बताउनुभएको छ । उहाँले टिकटकका प्रयोगकर्ताका कुनै पनि विवरणलाई चीन सरकार समेतका कुनै विदेशी सरकारलाई नदिइएको स्पष्ट गर्नुभयो ।

श्री गान्धीले भविष्यमा समेत कुनै सरकारले प्रयोगकर्ताका विवरणका लागि अनुरोध भएमा पनि नदिइने बताउँदै टिकटकले प्रयोगकर्ताको गोपनीयतालाई सर्वाधिक महत्व दिइरहेको स्पष्ट गर्नुभयो । उहाँले भारत सरकारले आफूलाई गोप्यताका विषयमा छलफल गर्न आमन्त्रण गरेको पनि जानकारी दिनुभयो ।

टिकटक चीनको बाइट–डान्स कम्पनीले निर्माण गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको भारत सरकारले सोमबार अबेर ५९ वटा चिनियाँ मोबाइल एप्समाथि एकैसाथ प्रतिबन्ध लगाएको थियो जसमा टिकटक पनि समावेश छ ।

एक अनुमान अनुसार भारतमा टिकटकका करिब एक करोड २० लाख प्रयोगकर्ता छन् । टिकटकका चीन बाहेक सबैभन्दा बढी ग्राहक भारतमा रहेका छन् ।

भारतीय सूचना प्रविधि मन्त्रालयले चिनियाँ एप्सका कारण भारतको सार्वभौमिकता र अखण्डता, भारतको सुरक्षा, राज्यहरुको सुरक्षा एवं सार्वजनिक जीवनमा चुनौती उत्पन्न भएको जनाएको छ । 

चीन र भारतीय फौजबीच लद्दाखमा गत जुन १५ मा भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुबै देशबीच तनाबको स्थिति छ । यस क्षेत्रमा अहिले अतिरिक्त सुरक्षाफौज, लडाकू बिमान र अन्य उपकरण तैनाथ गर्नेक्रम जारी छ । 

यसैबीच, भारतमा चिनियाँ सामानको बिक्री तथा चीनबाट सामान आयातमा समस्या उत्पन्न हुन थालेको छ । गत साता, नयाँदिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो ।

भारतमा चिनियाँ इलेक्ट्रोनिक्स वस्तुका उत्पादनहरुको पनि बाक्लो उपस्थिति रहेको छ । चिनियाँ मोबाइलहरु साओमी र ओप्पोले भारतको झण्डै ६५ प्रतिशत हिस्सा ओगटेको अनुमान छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!