काठमाडौँको आकाशमा सलह किरा, नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान

Posted on: 30 Jun, 2020

असार १६, काठमाडौँ | शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौँको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । 

करिब पाँच/सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिनुभयो । सलहको यो हुल रातभर बास बसेर पश्चिमतिर जाने अनुमान गरिएको छ ।

सलहको यो हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको देखिन्छ । काठमाडौँमा आज देखिएको सलह केही दिनदेखि मकवानपुरमा रहेको सलहको ठूलो हुल हो वा नयाँ हो भन्ने यकिन आवश्यक अध्ययन गरी भोलि मात्रै भन्न सकिने उहाँले बताउनुभयो ।

मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह किरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह किरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने किरा हो । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ ।

प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुर्याउँछ । यो किरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!