नदी कटान रोक्न आवश्यक काम भइरहेको छ : अध्यक्ष दाहाल

Posted on: 11 Jul, 2020

असार २७, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको आज निरीक्षण गर्नुहुँदै उहाँले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताउनुभयो । 

यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहनुभएका दाहालले प्रधानमन्त्रीसँगको आजको संवादलाई छाडेर आफू निरीक्षणमा आएको बताउनुभयो । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । 

दाहालले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि वढाएको बताउनुभयो । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिनुभयो । उहाँले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाउनुभयो । 

पानीपरेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको हो । दाहाललाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराउनुभएको थियो । दाहालले आजै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गर्दै हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!