गुड्न थाले सार्वजनिक यातायात

Posted on: 14 Jul, 2020

असार ३०, काठमाडौं  । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । 

राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् ।

सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायात व्यवसायीले भने विभिन्न माग राखेर बस नचलाउने बताउँदै आएका थिए । तर, सोमबारदेखि भने विभिन्न कम्पनीले बस सञ्चालन गर्न थालेका हुन् ।

सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ । अधिकांश बस खाली नै गुडिरहेको पाइएको थियो ।

कलंकीमा भेटिएका एक चालकले बस ग्यारेजबाट निकालेर गुडाउन थाले पनि यात्रु नै नभेटिएको गुनासो गरे ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि बिहीबार सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको थियो ।

सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!