ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल

Posted on: 02 Aug, 2020

साउन १८, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । 

गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो । महाशाखा प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो । 

उहाँले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको जानकारी दिनुभयो । यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।  

महाशाखामा हाल एक हजार ५०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३७५ जना क्वारेन्टिनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताउनुभयो । क्वारेन्टिनमा बसेका प्रहरीको चाँडो स्वाब सङ्कलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ । स्वाब सङ्कलनको रिपोर्ट नआएसम्म महाशाखा भित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!