यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

Posted on: 04 Aug, 2020

साउन २०, काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । 

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन ।

कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो । कार्यालयमा अत्यधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गारो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताउनुभयो । 

उहाँका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँसँगै जगाती, सुकेधारा र ठूलोभ¥याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन् । उहाँले भन्नुभयो, “उपत्यकामा कोभिड कम नभएसम्म तत्काल सञ्चालन गर्ने अवस्था छैन ।

” कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन । 

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उहाँको भनाइ छ ।

नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ । कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको छ । उहाँले भन्नुभयो,“सामान्य अवस्थामा ५०० को नवीकरण भएकामा अहिले त्यसको आधा गरिएको हो ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!