अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग

Posted on: 06 Aug, 2020

पूर्णप्रसाद मिश्र । साउन २२, काठमाडौँ । पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ । 

त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा शुरु भएपछि विभागले विज्ञसँग छलफल शुरु गरेको प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । विज्ञसँग छलफलपछि स्थलगत रुपमा विज्ञको समूह अनुसन्धानका लागि पठाउने विषयमा पनि विभागले परामर्श शुरु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते २०७ औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा रामको जन्म नेपालकै अयोध्यापुरीमा भएको बताउनुहुँदै सांस्कृतिक अतिक्रमण रोक्न थप अध्ययन एवं अनुसन्धान हुनुपर्ने बताउनुभएको थियो ।

महर्षि वाल्मीकिले संस्कृत भाषामा रचना गर्नुभएको रामायणलाई आदिकवि भानुभक्त आचार्यले नेपालीमा भावानुवाद गर्नुभएको थियो । विसं २०६७ देखि राम जन्मभूमि अयोध्याका विषयमा अनुसन्धानरत लोकमणि पौडेल यसका लागि आफू लखनउको फैजावादस्थित अयोध्या, उत्तर प्रदेशस्थित बिठुरको वाल्मीकि आश्रम र पञ्जाबको वाल्मीकि आश्रममा पनि पुगेर सूक्ष्म अध्ययन गरेको बताउनुहुन्छ । 

भारतमा दुईतिर दाबी गरिएको वाल्मीकि आश्रमभन्दा नेपालको वाल्मीकि आश्रमको प्रमाण बलियो रहेको उहाँले बताउनुभयो । वाल्मीकिले रचना गर्नुभएको संस्कृत रामायणमा तमसा र गङ्गा नदीको बीचमा वाल्मीकि आश्रम पर्छ भनिएकामा त्रिवेणी नजिकैको आश्रम नै सही भएको भारतका मानिसको पनि सहमति रहेको अध्ययनका क्रममा भेटिएको उहाँले सुनाउनुभयो ।

वाल्मीकि आश्रम पारि भारतले वाल्मीकि बाघ संरक्षण केन्द्र स्थापना गरेको छ । त्यहाँको नगरको नाम पनि भारतले वाल्मीकि नगर राखेको अनुसन्धाता पौडेलले बताउनुभयो । भारतका दुवै वाल्मीकि आश्रम भव्य भए पनि नेपालको आश्रमको विकासमा यहाँका सरोकार भएका निकायको ध्यान नगएको प्रष्ट देखिएको तीन वटै आश्रमको अनुसन्धान गर्नुभएका अनुसन्धाता पौडेलले सुनाउनुभयो । 

वाल्मीकि रामायणमा आश्रमको पूर्वतिर अयोध्या पर्छ भनिएको छ । नेपालको वाल्मीकि आश्रमबाट अयोध्यापुरी पूर्व पर्छ । अयोध्यापुरी वरिपरिको भागमा बैकुण्ठ ताल, सोमेश्वर पहाड लगायत धार्मिक एवं सांस्कृतिक महत्वका धेरै स्थल रहेकाले पनि अयोध्यापुरी नै राम जन्मभूमि हुन सक्ने बलिया प्रमाण रहेको पौडेलको भनाई छ । थप अनुसन्धानका लागि त्यस स्थलको पुरातात्विक उत्खनन् गर्न पनि उहाँले माग गर्नुभयो ।

परशुराम कुण्डबाट आउने मरोट खोला र रिया खोला पनि वाल्मीकि आश्रम एवं अयोध्यापुरीको बीचमा रहेकाले अयोध्यापुरीमा दशरथ र कौशल्याका छोरा रामको जन्म भएको बलिया आधार भए पनि सरोकार भएका निकायले यसको थप अध्ययन अनुसन्धान गर्नुपर्ने अध्येता पौडेलको माग छ । चितवनको साविक अयोध्यापुरी गाविसको केही भाग पर्सा जिल्लामा गाभिएको थियो ।

रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!