अष्ट्रेलियामा बेरोजगार संख्या थप बढ्यो

Posted on: 13 Aug, 2020

साउन २९, (रासस/एएनआई) : अष्ट्रेलियामा बेरोजगारको संख्या थप बढ्दै गएको देखिएको छ । पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन् । 

जुन र जुलाईको यो तथ्यांकसहित यहाँ बेरोजगारको संख्या करिब दश लाख पुगेको पनि प्राप्त समाचारमा जनाइएको छ । अष्ट्रेलियाको तथ्यांक विभागका प्रमुख बिजोर्न जेभिसले सो कुराको जानकारी दिनुभएको हो । 

उहाँले बिहीबार दिनु भएको जानकारीअनुसार अष्ट्रेलियामा कोभिड १९ को सङ्क्रमणका कारणले पछिल्लो समयमा बेरोजगारहरुको संख्या बढ्दै गएको छ र पछिल्लो चरणमा यो समस्या झन् बढ्दो रुपमा रहेको छ । 

अष्ट्रेलियामा पहिलो पटक यति धेरै संख्यामा बेरोजगारहरुको संख्या देखिएको हो । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा विश्वकै महामारीका रुपमा कोरोना भाइरसलाई घोषणा गरेको थियो । 

विश्वमा दुई करोडभन्दा बढी नागरिक यस सङ्क्रमणबाट सङ्क्रमित भएका छन् भने सात लाखभन्दा बढीको ज्यान गइसकेको छ । यता अष्ट्रेलियामा भने यसबाट २२ हजार नागरिक सङ्क्रमित भएका छन् । त्यस्तै यहाँ ३६० भन्दा बढीको ज्यान गएको बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!