कात्तिक ७, मोरङ | प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।
मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराउनुभएको थियो । उहाँ अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बस्नुभएको छ । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।
यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उहाँ अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यावस्था पनि सामान्य छ ।
कोरोना सङ्क्रमणबाट विराटनगरमा आज दुई जनाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा मोरङ र सुनसरीका एकएक पुरुष र महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।
अस्पतालमा बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी फोक्सो र मिर्गाैलासम्बन्धी रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । उनमा यही कात्तिक ५ गते पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।
यसैगरी धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो । उनी गत असोज २९ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो श्वासप्रश्वास र मधुमेह रोगबाट पीडित महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले बताउनुभयो । रासस
यस बिषयमा तपाइको प्रतिक्रिया...!