आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउको बलि दिएर मनाइयो दशैँ

Posted on: 29 Oct, 2020

कात्तिक १३, हुम्ला | च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य ठप्प भएका छन् ।

उत्तरी नाकाबाट खसी आयात हुन नसकेपछि छिमेकी जिल्ला बझाङ, बाजुरा र दार्चुलाबाट भने केही मात्रामा लोकल खसी आयात गरिए पनि उक्त खसीको मूल्य भने निकै महङ्गो भएकाले स्थानीय बासिन्दाले किन्न सकेनन् । उनीहरुले आफ्नै खेतबारीमा रोपेका अन्न बालिनालीको बलि दिएर दशैँ मनाइएको सिमकोट गाउँपालिका–७ निवासी जोखे सुनारले बताउनुभयो । 

स्वास्थ्य सेवा सञ्चालनमा 

हुम्ला स्वास्थ्य सेवा कार्यालयमा पीसीआर जाँच गर्दा गत असोज १२ गते सर्केगाड गाउँपालिका–५ गोठी गाउँकी २१ वर्षीया किशोरी शाहीलाई कोरोना सङ्क्रमण देखिएको थियो । त्यसलगतै विद्युत् कार्यालयका तीन जना, सशस्त्रका दुई जना, ताँजाकोट गाउँपालिकाका एक शिक्षक र स्वास्थ्य सेवा कार्यालय सिमकोटकी एक अनमी गरी जम्मा ८ जनालाई कोरोना सङ्क्रमण देखिएपछि विद्युत् कार्यालय र स्वास्थ्य सेवा कार्यालयमा घेरा बन्दी गरिएको थियो । यही कात्तिक ३ गतेदेखि १२ गतेसम्म बन्द रहेको स्वास्थ्य सेवा कार्यालय सञ्चालनमा आएको स्वास्थ्य सेवाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!