सामाजिक सञ्जालमार्फत् गाली बेइज्जतीगर्नेलाई साइबर अपराधको मुद्दा

Posted on: 30 Oct, 2020

कात्तिक १४, काठमाडौँ | सामाजिक सञ्जालमार्फत् पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गाली बेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष थापाको तस्बीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए । 

कोषाध्यक्ष थापाले कात्तिक ४ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा भण्डारीले साइबर अपराधसहित आफ्नो गाली बेइज्जती भएको भन्दै उजुरी दर्ता गर्नुभएको थियो । उजुरी दर्ता भएपछि परिसरले कात्तिक १२ गते बुधबार भण्डारीलाई गुह्येश्वरी मन्दिर परिसरबाट पक्राउ गरेको थियो । भण्डारीलाई साइबर अपराधमा कात्तिक १६ गते आइतबार अदालत पेश गर्ने तयारी भएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले राससलाई जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!