घरघर पुगेर कोरोना परीक्षण गर्दै अल्फा केयर, ७ घण्टामै रिपोर्ट

Posted on: 30 Oct, 2020

कात्तिक १४, काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न अल्फा हेल्थ केयर एण्ड डायग्रोस्टिक सेन्टरले घरघरमा गएर स्वाब संकलन गर्ने सेवा थालेको छ । अमेरिकामा निर्मित प्रविधि भित्र्याएर स्वाब संकलन गरेर कोरोनाको परीक्षण घरघरमा पुगेर गरिरहेको अल्फा सेन्टरले जानकारी दिएको हो । 

गत सातादेखि सेवा सञ्चालन गरेको साे सेन्टरले ५ सयभन्दा धेरै सर्वसाधारणको घरैमा पुगेर स्वाब संकलन गरेको जनाएको छ । सेन्टरले (ए ग्रेड) ल्याबको सञ्चालनसहित स्वास्थ्य सेवा दिएको जानकारी दिएको छ । 

 

तत्काल उपत्यकाभित्र र चाँडै देशभर कोरोना न्यूनीकरणका लागि घरघरसम्म पुगेर स्वाब संकलन गर्ने सेवा दिन थालेको सेन्टरका प्रबन्धक निर्देशक डा. विदुर वस्तीले जानकारी दिए । सेन्टरमा अत्याधुनिक उपकरण र विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त प्रविधिको प्रयोग गरेर कोरोना भाइरसको पीसीआर र ओपीटी परीक्षण हुने निर्देशक डा. वस्तीले बताए । 

सेन्टरसँग देशभित्र कोरोना भाइरसको जोखिम र संक्रमण बढ्दै गएपछि विभिन्न मेडिकल क्षेत्रमा अध्ययन र अनुसन्धानमा सहभागी भइसकेका विशेषज्ञ डाक्टरहरू आवद्ध रहेको उनको भनाइ छ ।   

सेन्टरले वैदेशिक रोजगारीमा जाने कामदारको कोरोना (पीसीआर) परीक्षण, सामान्य मेडिकल जाँच, अन्य विभिन्न किसिमका स्वास्थ्य परीक्षण र मृत्यु भएका मान्छेको तत्काल पोष्टमार्टम जाँच गर्ने सेवासमेत सुुरु गर्ने भएको छ ।

सरकारले तोकेको २ हजार शुल्क लिएर घरघरमा पुगेर स्वाब संकलन भइरहेको सेन्टरले जानकारी दिएको छ । यसरी स्वाब संकलन गरेको व्यक्तिको ७ घण्टाभित्र रिपोर्ट आउँछ । सेन्टरले कोरोना परीक्षण गरेका व्यक्तिलाई रिपोर्टका लागि धेरै समय कुर्नु नपर्ने गरी सेवा दिइरहेको छ । 

विशेषत: वैदेशिक रोजगारीमा जाने कामदारका हकमा चाँडै कोरोना परीक्षणको रिपोर्ट आए उनीहरू छिट्टै जान पाउँछन् । सेन्टरले दिएको सेवाले विदेशी कामदारका हकमा भने फाइदा पुगेको छ । सेन्टर सञ्चालनका लागि करिब ४ करोड रुपैयाँ लगानी भएको सेन्टरले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!