विदेशबाट नेपाल आउने १४ दिन क्वारेन्टाइनमा बसे/नबसेको अनुगमन गरिने

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौँ | विदेशबाट नेपाल आउनेहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ | हवाईमार्ग वा स्थलमार्ग भएर विदेशबाट आउने सबैले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भएको हो | 

विदेशबाट आउने व्यक्तिलाई होम क्वारेन्टिनमा राख्नलाई अहिले टोलटोलमा निगरानी समूह गठन गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन डा. महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए |

निगरानी समूहले विदेशबाट आउने व्यक्ति घरमा बसे/नबसेको अनुगमन गर्नेछ | 

उक्त निगरानी समूह देशव्यापी रूपमै गठन गरिने भएको छ | हाल कतिपय पालिकाले समुह गठन गरिसकेको र उपत्यकाको १८ वटै पालिकाहरूमा छलफल भइसकेको जनाइएको छ | निगरानी समूह गठन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहका प्रमुख र वडाध्यक्षसँग छलफल गरिरहेको छ |

यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हवाईमार्ग वा स्थलमार्ग भएर विदेशबाट आउने सबैले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जानकारी दिएका थिए | सरकारले यसअघि पनि विदेशबाट आउने व्यक्ति होम क्वारेन्टिनमा बस्नुपर्ने बताएको थियो | तर उक्त निर्णय कार्यान्वयन भने फितलो भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!