निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

Posted on: 20 Jan, 2021

माघ ७, काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् ।

निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ ।

नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक पर्ने भन्दै खर्च र निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्रीको खाकासहितको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ ।

यसैगरी सशस्त्र प्रहरीले निर्वाचनका लागि आवश्यक पर्ने रकमसहित सवारी तथा सञ्चार साधन र अन्य आवश्यक लजिस्टिक सामानसमेत समेटेर खाका तयार गर्दै छ ।

‘नेपाल प्रहरीका तर्फबाट १२ अर्ब बराबरको खर्चको खाका आएको छ, सशस्त्रबाट आइसकेको छैन । सबै सुरक्षा निकायबाट आएपछि आवश्यक छलफल अघि बढ्छ,’ गृह स्रोतले भन्यो ।

नेपाल प्रहरीले भने २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आँकडाका आधारमा खर्चको अनुमानित विवरण गृह मन्त्रालयमा पठाएको हो ।

प्रहरीले म्यादी प्रहरी भर्ना गर्दा लाग्ने खर्चलाई समेत अनुमानित खर्च विवरणमा पेस गरेको छ । आगामी निर्वाचनका लागि १ लाखमा नबढ्ने गरी म्यादी प्रहरी भर्ना गर्ने नेपाल प्रहरीको तयारी छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!