अमृत सिंह हत्या प्रकरण : वडाध्यक्ष सहित ४ जना पक्राउ

Posted on: 27 Jan, 2021

माघ १४, बझाङ । बझाङमा मंगलबार भएको युवक हत्या प्रकरणमा वडाध्यक्ष सहित ४ जना पक्राउ परेका छन् । छविसपाथिभेरा गाउँपालिका-३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्यामा संग्लग्न रहेको आशंकामा सोहि गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी सहित प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडीलाई प्रहरीले पक्राउ गरेको हो ।

हत्यापछि फरार रहेका प्रकाश ऐडी र केदार ऐडीलाई बिहिबार थलारा गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले  जनाएको छ । यसअघि सोही गाउँपालिका-२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो । 

छविसपाथिभेरा-३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा तरुण दल गाँउ कार्यसमिति सदस्य अमृत सिंहको हत्या भएको बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । 

प्रहरीका अनुसार अमृतको ह्त्त्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग भएको भेटिएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेकपा निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले कांग्रेस निकट उम्मेदवार लोकेन्द्र बोहरासँग पराजित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!