यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

Posted on: 27 Jan, 2021

माघ १४, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ ।

लाइसेन्स वितरणको क्रममा घुस लेनदेन भएको सूचना पाएपछि अख्तियार दुरूपयोग आयोगको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो ।

कार्यालयमा केही कर्मचारी र एक जना बिचौलिया पनि फेला परेका थिए । साथै सोफाको कुनामा पैसा भेटिएको थियो । सोफाको कुनामा र अन्य फर्निचरमा प्लाष्टिकमा बेरेर पैसा राखेको अख्तियार टोलीले भेटेको थियो । लुकाएर राखिएको २ लाख २३ हजार ८ सय रुपैयाँ बाँडफाँटका लागि राखिएको हुनसक्ने अनुमान गरिएको छ ।


अख्‍तियारले कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लिएको छ । बिचौलिया भगतको साथबाट ५० हजार बरामद भएको थियो । बिचौलिया भगतले ट्याक्टर चालकको लाइसेन्सको लागि घूस वापत रकम बोकेर आएको बयान दिएका छन् ।

अख्तियारले छापा मारेर कार्यालय सहयोगी र बिचौलियालाई पक्राउ गरेपछि कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा स्थगित गरेको छ । 

चालक अनुमति पत्रका लागि बुधबारदेखि शुक्रबारसम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको सूचना मार्फत जनाएको छ । कार्यालयका निमित्त प्रमुख वीरेन्द्र साहद्वारा हस्ताक्षरित सूचनामा कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!