शव बढेपछि छिटो मर्मत गर्नुपर्ने अवस्थामा विद्युतीय शवदाह यन्त्र

Posted on: 07 May, 2021

पूर्णप्रसाद मिश्र। वैशाख २४, काठमाडौं। पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह निरन्तर चलाउनुपर्दा छिटो तातेर मर्मतसम्भार गरिरहनुपर्ने भएको छ । 

कोरोना सङ्क्रमण भई मृत्यु भएकालाई नेपाली सेनाको सुरक्षामा विद्युतीय शवदाह गृहमै जलाइने गरिएको छ । विद्युतीय शवदाह गृहमा हाल कोरोनाबाट मृत्यु भएका बाहेकको शवदाह गरिँदैन । दैनिक कोरोनाबाट मृत्यु भएका ३० भन्दा बढी शव आउन थालेपछि यन्त्र चलिरहँदा तातेका कारण मर्मत गरिरहनु परेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । कोरोनाबाट प्रभावित भई दैनिक मर्नेको सङ्ख्या बढेपछि पशुपति क्षेत्रमा पनि शवदाह गराउन ल्याउने क्रम बढेको हो ।

केही दिनअघि विद्युतीय शवदाहको एक नं यन्त्र मर्मत गरिएको थियो । धेरै तातेका कारण आज विद्युतीय शवदाहको दुई नं यन्त्र पनि मर्मत गर्न लागिएको उहाँले सुनाउनुभयो । तीन दिनमा मर्मत सकिने जनाइएको छ । सामान्य अवस्थामा विद्युतीय शवदाह गृह तीन महिनामा मर्मत गरे हुने गरेकामा कोरोनाबाट मृत्यु भएका शव धेरै आएर छिटो मर्मत गर्नुपरेको हो । 

काठमाडौँ महानगरपालिकाको सहयोगमा दुई यन्त्र राख्न बस्तीले रोक्यो । महानगरपालिकाले दुई विद्युतीय शवदाह यन्त्र राख्न रु १५ करोड आर्थिक सहयोग गर्ने सम्झौता गत वर्ष भएको थियो । हाल शवदाह गृह रहेको पारिपट्टि तिलगङ्गा क्षेत्रमा निर्माण गर्न लागिएको अर्को विद्युतीय शवदाह गृह बस्ती हटाउन नसकिएका कारण काम अघि बढ्न नसकेको सदस्यसचिव ढकालले बताउनुभयो । अधिग्रहणमा परेको सो बस्ती हटाउन मुआब्जा वितरण भइसकेको छ ।

यहाँबाट बस्ती हटाएकालाई गोठाटारमा रहेको कोषको जग्गामा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) गरी बस्ती बसाउने कार्यक्रम छ । भवनसहित विद्युतीय शवदाह गृहसहित दुई नयाँ यन्त्र राख्न बोलपत्र आब्हान भइसकेर पनि स्थान खाली नभएकै कारण रोकिएको छ । थप दुई यन्त्रसहित नयाँ विद्युतीय शवदाह गृह समयमै बनाउन सकिएको भए महामारीको यो घडीमा शवदाह गर्न समस्या नपर्ने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।

कोभिडबाट मृत्यु भएकाको शवदाह गर्न पाँच यन्त्र राखिँदै 

यसैबीच दाउराबाट कोभिडको मात्र शवदाह गर्ने पाँच शवदाह गृह बनाउन काम शुरु गरिएको छ । विद्युतीय शवदाह गृहमुनिका वाग्मती किनारमा निर्माण हुने यी शवदाह गृह पनि कोरोनाबाट मृत्यु भएकाको मात्र शवदाह गरिने जनाइएको छ । हाल कोरोनाबाट मृत्यु हुने बढेसँगै नदी किनारमा शवदाह गरिरहेको दृश्य पशुपति क्षेत्रमा देखिन्छ ।

पशुपति क्षेत्रमा रहेका सबै मठमन्दिरमा पूजाआराधना एवं दर्शन गर्न रोक लगाइएको छ । पशुपति क्षेत्रमा अत्यावश्यक रुपमा गरिनुपर्ने क्रियापुत्री, विद्युतीय र दाउराबाट हुने शवदाह सेवा भने नियमित रुपमा चलेको छ । चलेको अत्यावश्यक सेवामा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी भौतिक दूरी कायम गरेर काम भइरहेको छ । सामान्य रोगबाट निधन भएका परिवार एवं आफन्त पनि सरकारले तोकेको मापदण्डभन्दा बढी नहुने गरी मलामीका रुपमा जम्मा भएर अन्तिम संस्कार गर्न कोषले आह्वान गर्दै आएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!