देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने

Posted on: 20 Jul, 2021

साउन ५, काठमाडौं । देशका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ । नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको हो ।

पानीजहाज कार्यालयका रजिस्ट्रार विपिन राजभण्डारीले नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्त रूप दिने उद्देश्यसहित कोसी, नारायणी, काली गण्डकी र कर्णालीमा सम्भाव्यता अध्ययन गरिएको जानकारी दिनुभयो ।

सो अध्ययनले ती नदीहरूमा पानीजहाज चलाउन सम्भव रहेको देखाएको उहाँले स्पष्ट पार्नुभयो । आर्थिक वर्ष २०७७/७८ मा सो अध्ययन सम्पन्न भएको हो । कोसी, काली र गण्डकीको सम्भाव्यता अध्ययन परामर्शदाता पीएमएस/रिती/आई इस (संयुक्त)ले गरेको थियो । 

त्यसैगरी नारायणी र कर्णाली नदीको अध्ययन मल्टी कन्सल्टेन्सी सर्भिसले गरेको थियो । परामर्शदाता कम्पनीहरूले अध्ययन प्रतिवेदन नेपाल पानीजहाज कार्यालयलाई बुझाइसकेका छन् । गत आर्थिक वर्षको असारमा अध्ययन सम्पन्न भएको थियो ।

त्यसैगरी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेसन राख्ने सम्भाव्यता अध्ययन गरिएको जानकारी उनले दिए । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालन गर्न देवघाट र रामपुरमा सबस्टेसन स्थापना गर्न अध्ययन गरिएको जानकारी उनले दिए ।

त्यसैगरी कालीगण्डकीमा पाल्पा खण्डको रामपुर नगरपालिकाको केलादीघाट र गौरीघाटमा सबस्टेसन निर्माण गर्न अध्ययन गरिएको हो । कालीगण्डकीमा दुईतर्फी जलयान चलाउन सकिने अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा समेत पाल्पाको राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनको अध्ययनका लागि बजेट व्यवस्थापन गरिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!