“छिमेकीलाई पहिला” नीतिअन्तर्गत भारतले दियो बङ्लादेशलाई अक्सिजन

Posted on: 25 Jul, 2021

 साउन १०, नयाँ दिल्ली (रासस/एएनआई) । भारतले “छिमेकीलाई पहिला” भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।  

अक्सिजनको उपलब्धताले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सहयोग पुग्ने विश्वाससमेत अधिकारीहरूले व्यक्त गरेका छन् । 

भारतको तर्फबाट छिमेकीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अक्सिजन उपलब्ध गराइएको भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।

“छिमेकीलाई पहिला भन्ने हाम्रो नीतिलाई हामीले फेरि प्रमाणित गरेका छौँ, त्यही नीतिअनुसार भारतले बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ,” उहाँले ट्वीटरमा लेख्नु भएको छ ।  

भारतीय रेल सेवा मार्फत २०० मेट्रिकटन तरल मेडिकल अक्सिजन (एलएमओ) उपलब्ध गराइएको पनि उहाँले जानकारी दिनुभयो ।  

दक्षिण एसियाली मुलुक बङ्गलादेशमा अहिलेसम्म ११ लाख ६४ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १९ हजार २७४ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार २९१ जना सङ्क्रमित भएको र २२८ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!