अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

Posted on: 30 Jul, 2021

साउन १५, वासिङटन (रासस/एएफपी) । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । 

खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्य सरकारहरुलाई पनि आह्वान गर्नुभएको छ । 

उहाँले सङ्घीय सरकारका कर्मचारीका लागि पनि यो व्यवस्था लागू हुने बताउनु भएको छ । अमेरिकामा सङ्घीय सरकारका निकायहरूमा मात्रै करिब २० लाख मानिस काम गर्छन् ।

बाइडेनले जारी गर्नुभएको निर्देशनमा अबदेखि कर्मचारीहरुले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ व्यवस्था गरिएको उल्लेख छ । त्यसैगरी सबै कर्मचारीले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

बढी सङ्क्रामक डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको अमेरिकामा हालसम्म आधा जनसङ्ख्याले मात्र खोपको मात्रा पूरा गरेका छन ।

खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टले बढी असर गर्ने गरेकाले खोप लगाउन सरकारले सवैलाई आग्रह गरेको छ । खोप लगाउन प्रेरित गर्नेगरी अहिले लागू गरिएको नगद रकम दिने व्यवस्थाले पहिले नै खोप लगाइसकेकालाई भने अन्याय हुने टिप्पणी पनि भएको छ । 

अमेरिकी राष्ट्रपति वाइडेनले भने सार्वजनिक हितका लागि भएकाले यसलाई अन्यथा मान्न नहुने बताउनु भएको छ । “जति धेरै मानिसले खोप लगाउँछन्, कोरोना भाइरसको महामारीबाट हामी उतिनै बढी सुरक्षित हुन्छौँ, त्यसैले यसको फाइदा सवैलाई हुने भएकाले खोप लगाउन प्रेरित गर्नु हामी सवैका लागि हितकर छ”, उहाँले भन्नुभयो । 

गत महिना अमेरिकामा गरिएको एउटा अध्ययनले ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिहरुको भएको देखाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!