सिन्धुपाल्चोकमा बाढी: असार १ गते जोगिएको पुल पनि बग्यो, हेलम्बु र मेलम्चीको सम्पर्क बिच्छेद

Posted on: 01 Aug, 2021

साउन १७, काठमाडौं । सिन्धुपाल्चोकमा गे रातिको बाढीको कारण रातो पुल बगाएको छ । गत असार १ गते आएको बाढीमा जोगिएको पुल बाढीले बगाएको हो ।

गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

झोलुङ्गे पुलले हेलम्बुको तीन र चार नम्बर वडालाई जोड्दथ्यो । यसैगरी पक्की पुल (रातो पुल)ले हेलम्बु र मेलम्चीलाई जोड्दथ्यो । यो एकमात्र पक्की पुल पनि बगेपछि सम्पर्कविच्छेद भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । असार १ गतेको बाढीमा रेडियो मेलम्चीको भवन डुबानमा परेको थियो । 

मेलम्चीमा गएरातिदेखि नै फेरि लेदो माटोसहितको बाढी आएको छ । मानवीय क्षति भने भएको छैन ।


हेलम्बु गाउँपालिका–१ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि ठूलो बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै बाढी बगेको छ । बाढी अहिले पनि नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

गएराति बाढी आउने सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित रहन भनिएको थियो । कतिपयलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!