केपिलासगढी गाउँपालिकाले बनायाे डेढ कराेडकाे प्रशासनिक भवन

Posted on: 30 Nov, 2021

मंसिर १४, खोटाङ, न्युज कारखाना | खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । १ करोड ७६ लाख ५४ हजार रुपैयाँमा तीन तले पक्की भवन बनाएको हो । आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरिएको भवन सोमबार गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी)ले रिवन काटेर उद्घाटन गरे ।

हालसम्म केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको तत्कालीन गाविस र पृथ्वी माविको जीर्ण भवनलाई मर्मत गरेर सेवा प्रवाह गर्दैआएको गाउँपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताए । भवनमा एउटा सभा हलसहित १३ वटा प्रशासनिक कोठा छन् । 

आठ स्थानीय तहले बनाए आफ्नै भवन 

खोटाङका १० स्थानीय तहमध्ये आफ्नै प्रशासनिक भवन बनाउनेको संख्या आठ पुगेको छ । निर्वाचनपछि कार्यान्वयनमा आएको स्थानीय तहमध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जन्तेढुंगा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाइसकेका छन् ।

साकेला गाउँपालिकाको भवन निर्माणाधीन छ भने ऐसेलुखर्क गाउँपालिकाको भवन अलपत्र अवस्थामा छ ।

ऐसेलुखर्क गाउँपालिकाले हाल भाडामा लिएको घरबाट सेवा सञ्चालन गरिरहेको छ । साकेला गाउँपालिकाले हाल कृषि तथा पशु सेवा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!