दृष्टिविहीन क्रिकेटः नेपाल अस्ट्रेलियासँग पराजित

Posted on: 31 Jan, 2017

माघ १८, काठमाडौँ । दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ । 

भारतको नयाँदिल्लीमा भएको खेलमा अस्ट्रेलियाले नेपाललाई १० विकेटले पराजित ग¥यो । नेपालले दिएको १४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले १२ दशमलव ४ ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो । 

नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार गरेको थियो । नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले ३४ रनको योगदान दिए । त्यस्तै कृतन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ तथा सुनिल थापामगरले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । 

अष्ट्रेलियाका लागि भने म्याथ्यु जेम्स क्यामरुनले ६८ तथा स्टेफन लियो पालमरले ४८ रन जोडेका थिए । नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार बङ्गलादेशसँँग खेल्नेछ । 

लनटेनिसको उपाधि बज्राचार्य र राणालाई 

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको नवौं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको उपाधि काठमाडौँका संरक्षकबहादुर बज्राचार्य र ललितपुरकी मायाङ्का राणाले जितेका छन् । 

हल्चोकस्थित लनटेनिस कोर्टमा आज भएको अन्तिम खेलमा बज्राचार्यले एआइएका कुमार अधिकारीलाई ७–५ र ७–६ ले पराजित गर्दै उपाधि जितेका हुन् भने राणाले पोखराकी गङ्गा शर्मालाई ६–४ र ६–२ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् । 

त्यस्तै ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको विधामा ललितपुरका राजु क्षेत्रीले एपिएफका श्रीराम मगरलाई ४–६, ६–३ र १४–१२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको छ । 

यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको अन्तिम खेलमा ललितपुरका कृृष्णराज घलेले हेटौडाका प्रताप मोक्तानलाई ६–४ र ६–१ ले पराजित गर्दै पहिलो स्थान हासिल गरेको छ । 

महिला भलिबल– एपिएफ र पुलिस सेमिफाइनलमा 

सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । 

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको भलिबल कोर्टमा आज सम्पन्न भएको खेलमा एपिएफले न्यु डायमण्ड एकेडेमीलाई २२–२५, २५–१२, २५–२२ र २५–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

त्यस्तै पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घलाई २५–१२, २५–१९ र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!