एकदिवसीय प्रधानमन्त्री कप जेठ ९ गतेबाट हुने

Posted on: 11 May, 2017

वैशाख २८, काठमाडौँ। सर्वाधिक पुरस्कार राशि भएको एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुनेभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा सो प्रतियोगिता आगामी जेठ ९ गतेबाट सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा पाँच विकास क्षेत्रसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।

 प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टोलीले रु ५० हजार, म्यान अफ दी सिरिजले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले रु ५० हजार पुरस्कार पाउनेछन् ।

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सम्भावना बोकेका खेलाडीका लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । लिगकम नकआउटको आधारमा खेलाइने उक्त प्रतियोगिताका सहभागी टोलीलाई तयारी खर्चस्वरुप रु ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । जेठ २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!