पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

Posted on: 09 Aug, 2017

साउन २५, पोखरा । नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका–१९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । 

हरितालिका तीजको अवसरमा आगामी भदौ ६ देखि ८ गते हुने सो प्रतियोगितामा ६ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी, सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका विभागीय टिम, जाउलाखेल भलिबल प्रशिक्षण र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टिमको सहभागिता रहने छ । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टिमले क्रमशः रु ७५ हजार १०१, रु ५० हजार १०१, रु २० हजार र रु १५ हजार ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यस्तै सोही अवसरमा संस्थाद्वारा भदौ ४ देखि ६ गतेसम्म अन्तर माध्यमिक विद्यालय भलिबल, लोकनृत्य, महिला तीज गीत, विद्यालयस्तरीय जोडी नृत्य र महिला सामूहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!