मादी फुटबल क्लबलाई उपाधि

Posted on: 16 Aug, 2017


साउन ३२, तेह्रथुम । तेह्रथुमको म्याङलुङमा आयोजित जिल्लाकै सर्वाधिक राशीको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि मादी फुटबल क्लब, संखुवासभाले चुमेको छ । 

आज भएको खेलमा इन्द्रदल गुल्म, म्याङलुङलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मादीले उपाधि जितेको हो । 

उपाधिसँगै उसले नगद १ लाख २० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ । हारसँगै उपविजेता बनेको इन्द्रदल गुल्मले नगद ६० हजार रुपैयाँमा चित्त बुझाएको छ । 

म्याङलुङस्थित टुँडिखेल मैदानमा भएको खेलको पहिलो हाफमा मादी फुटबल क्लब संखुवासभाले पेनल्टी गर्ने अवसर पाएपछि जर्सी नं. ८ का राजन जिमीले गोल गरेका थिए । तर त्यतिमात्रै जितको लागि पर्याप्त भएनँ । दोश्रो हाफको अन्तिम ५ मिनेटको समयमा इन्द्रदल गुल्मका जर्सी नं. ११ का महेन्द्र राईले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 

थप समयमा समेत दुवै टिमबाट गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । अन्ततः उत्कृष्ट खेलाडीहरु सम्मिलित मादी फुटबल क्लब नै प्रतियोगिताको विजयी बन्यो । खेल अवधिभर आर्मीको गुल्मका खेलाडीलाई संखुवासभाका खेलाडीले दवावमा राखेका थिए । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ्ग तम्फुला युवा क्लबले आयोजना गरेको प्रतियोगितामा पुर्वका तेह्रथुमसहित पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभाका ३८ वटा टिम सहभागी थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!