नेपालले चौथो खेल आज केन्याविरुद्ध खेल्दै

Posted on: 12 Feb, 2018

 माघ २९, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तरगत नेपालले आफ्नो चौथो खेल आज केन्याविरुद्ध खेल्दैछ । यो प्रतियोगिताको टे्रन्ड र नेपालको अहिलेसम्मको प्रदर्शन हेर्दा आजको म्याच पनि ‘लो स्कोरिङ’ हुन सक्ने अड्कल गर्न सकिन्छ ।


सिम बलिङलाई हेल्प गरिरहेको पिचमा नेपालका लागि टस जित्नु निकै महत्वपूर्ण हुनेछ । नेपालले खेलेका तीन म्याचमध्ये दुई वटामा दोस्रो ब्याटिङ गरेर जित निकालेको थियो ।

नेपालको रणनीति भनेको पहिले विपक्षीलाई ब्याटिङमा बोलाउने र एक सय ५० भन्दा तलको स्कोरमा अलआउट गर्ने देखिन्छ । सोभन्दा माथिको लक्ष्य खडा भएमा नेपाललाई समस्या पर्न सक्छ ।

जारी प्रतियोगितामा नेपाल २ जित र एक हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

केन्याले दुबै खेल हारेको छ ।

नेपाल र केन्याबीच यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत दुई म्याच भएका थिए । काठमाडौंमा भएको दुई म्याचमध्ये नेपालले एक जित र एक हार व्यहोरेको थियो ।

कप्तान पारसले देखाएको बाटो

नेपालले तेस्रो म्याचमा बलियो यूएईविरुद्ध महत्वपूर्ण जित हात पार्दा पारस खड्का नायक बनेका थिए । पिचको अवस्था, खेलको सिचुयसन र विपक्षी बलिङ हेर्दा पारसको यो इनिङ उनको करिअरकै उत्कृष्टमध्येको एक मान्न सकिन्छ ।

पारसले ४८ बलमा बनाएको ५१ रनमध्ये ३० रन छक्काबाट बनेको थियो । उनले जम्मा ५ छक्का र दुई चौका प्रहार गरेका थिए । विपक्षी बलरहरु पूर्णरुपमा हावी भएको बेला उनले साहसिक प्रत्याक्रमण गर्दै ठूला सटहरु हिर्काए र नेपाललाई सहज अवस्थामा पुर्‍याए । रन बनाउन संघर्ष गरिरहेका नेपाली ब्याट्सम्यानहरुलाई पारसले उदाहरण सेट गरेका छन् ।

ज्ञानेन्द्रको र्फम

नेपाली टोलीका ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल भने यो प्रतियोगितामा अहिलेसम्म फिक्का देखिएका छन् । उनी चाँडै आउट हुँदा नेपाली टिम दबावमा परिरहेको छ ।

नेपाल प्रतियोगिताको फाइनलमा पुग्नका निम्ति ज्ञानेन्द्रको ब्याट चल्नु अति आवश्यक छ । उनी टोलीका अनुभवि र प्राविधिकरुपमा दक्ष ब्याट्सम्यान हुन् ।

अहिलेसम्मका तीन म्याचमा ज्ञानेन्द्रले जम्मा २७ रन बनाएका छन् । पहिलो खेलमा नामिबियाविरुद्ध ४५ बल खेलेर १५ रन बनाएका ज्ञानेन्द्र ओमानविरुद्ध ७ रन र यूएईविरुद्ध ५ रनमा आउट भए ।

यद्यपि ज्ञानेन्द्र कुनै पनि बेला र्फममा फर्किन सक्ने ब्याट्सम्यान हुन् । उनले डिभिजन २ अगाडिको अभ्यास म्याचमा यूएई ए विरुद्ध एक सय ५४ रनको इनिङ खेलेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!