प्रधानमन्त्रीले नेपाली क्रिकेट टिमलाई वधाई दिए (यस्तो छ, बधाइ सन्देश)

Posted on: 16 Mar, 2018

जिम्बावेमा सञ्चालन भएको एक दिवसीय विश्वकप क्रिकेट छनौट खेलमा पाएको सफलताप्रति विशेषतः नेपाली क्रिकेट टोली र समस्त नेपाली क्रिकेट प्रेमी दाजुभाई दिदी बहिनीहरुमा हार्दिक वधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेट टिमले पपुवा न्युगिनीसँगको खेलमा गरेको उत्कृष्ट प्रदर्शनले नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ र यसले समस्त नेपालीलाई हर्षित तुल्याएको छ । 

हाम्रो राष्ट्रले पाएको यो सफलतापछि अव नेपालले एक दिवसीय र लिष्ट ‘ए’ मान्यता प्राप्त राष्ट्रहरुसँग चार वर्षसम्म क्रिकेटमा प्रतिस्पर्धा गर्न पाउनेछ । नेपाली क्रिकेट टिमको अथक मेहनत, परिश्रम, शीप र उत्कृष्ट प्रदर्शन र त्यसको प्रतिफल स्वरुप नेपालले पाएको यो सफलताप्रति नेपाली टिमलाई पुनः म विशेष धन्यवाद सहित वधाई ज्ञापन गर्दछु । 

यो सफलतापछि नेपालले अवका चार वर्षसम्म विश्व क्रिकेट लिग, एसिया कप र अन्तरमहादेशीय कप लगायतका ठूला प्रतिस्पर्धामा भाग लिन पाउने सुअवसर प्राप्त गरेको छ । लामो प्रयासपछि नेपालले प्राप्त गरेको यससफलतालाई हामीले चार वर्षे मान्यताका रुपमा मात्र होइन गौरवपूर्ण शुरुवातका रुपमा लिएर स्थायी मान्यतामा बदल्न अझै मेहनत गर्नु पर्नेछ । हामीले यस गौरवपूर्ण सफलतालाई स्थायी बनाउने र टेष्ट स्तरीय मान्यताको नयाँ फड्को मार्नु पर्नेछ । 

नेपाली क्रिकेट प्रेमीहरुमा अभूतपूर्व उत्साहका वावजूद हामीसँग क्रिकेट खेलको पूर्वाधार कमजोर छ । ब्यवस्थापन र पूर्वाधार कमजोर हुँदा हुँदै नेपाली क्रिकेट टिमले विगत केहि वर्षदेखि गरेको निरन्तर प्रदर्शनले नेपाललाई क्रिकेटमा सम्भावना भएको देशका रुपमा चिनाउने सफलता प्राप्त गरेको छ । तसर्थ क्रिकेट खेलमा कमजोर पूर्वाधारको अवस्था अन्त्य गर्न सरकारले पहल गर्नेछ । राष्ट्रको प्रतिष्ठा बढाउने सफलता प्राप्त गर्न सफल भएकामा नेपाली क्रिकेट टिमलाई पुनः वधाई तथा शुभकामना ब्यक्त गर्दछु । 

२ चैत, २०७४ केपी शर्मा ओली


यस बिषयमा तपाइको प्रतिक्रिया...!