हैदरावादलाई २ विकेटले पराजित गर्दै चेन्नई आइपीएलको फाइनलमा

Posted on: 22 May, 2018

जेठ ८, मुम्बई | चेन्नई सुपर किंग्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको हो । खेलमा सुरुमा ब्याटिङ गरेको हैदरावादले दिएको १४० रनको लक्ष्य चेन्नईले अन्तिम ओभरको ५ बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गरेको हो ।   


पहिलो प्लेअफ खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । चेन्नईविरुद्ध हैदरावादको व्याटिङ्ग सुरुदेखि नै खराब रह्यो । अनुभवी व्याट्सम्यान शिखर धवनलाई शून्य रनमा गुमाएको हैदरावादले कप्तान केन विलम्सनलाई २४ रनमा गुमायो । उनले ४ चौका प्रहार गरे । तर, सातौं नम्बरमा व्याटिङ्गका लागि मैदानमा उत्रिएका कार्लोस ब्रेथवेटले टिमको स्कोर सम्हाल्दै नटआउट ४३ रन जोडे। २८ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे । 

खेलमा युसुफ पठान २४, श्रीभत्स गोस्वामी र शकिब अल हसनले १२–१२ रन जोडे । बलिङतर्फ चेन्नईका ड्वेन ब्राभोले २ विकेट लिए भने दीपक चाहर, शार्दुल ठाकुर, लुंगी नगिदी र रवीन्द्र जडेजाले १–१ विकेट लिएका थिए ।

जवाफमा ब्याटिङ गरेको चेन्नईको पनि सुरुवाती खेल निकै तनाबपूर्ण रह्यो तर अन्तिममा ब्याट्सम्यानहरुले फराकिलो स्कोर जोड्दा उसले ५ बल बाँकी छँदै लक्ष्य पुरा गर्न सक्यो । चेन्नईको लागि ओपनर शेन वाटसनले ५ बलमा बिना रन आउट भए तर ओपनर फाफ डु प्लेसिस खेलमा नट आउट रहेर खेल जिताउनमा सबैभन्दा महत्वपूर्ण पारी खेले । उनले नट आउट रही ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६७ रन बनाएका थिए । खेलमा सुरेश रैनाले १३ बलमा २२ रन जोडे । रैना आउट भए लगत्तै पहिलो बलमै अम्बाती रायाडू आउट भए । त्यसपछि आएका चेन्नईका कप्तान महेन्द्र सिंह धोनी पनि १८ बलमा ९ रनमात्र जोडेर आउट भए । त्यसपछि आएका द्वेवन ब्राभोले ११ बलमा ७ रन बनाएर आउट भए भने रविन्द्र जाडेजाले ५ बलमा ३ रन मात्र बनाएर आउट भए । त्यस्तै दीपक चाहरले ६ बलमा १० रन जोडेर आउट भए भने उनिपछी आएका हरभजन सिंह ९ बल खर्च गरेर २ रनमै आउट भए । त्यसपछी आएका शार्दुल ठाकुरले भने चेन्नईलाई जितको लागि निकै उत्कृष्ट पारी खेले । शार्दुलले नट आउट ५ बलमै ३ चौका प्रहार गर्दै १५ रन जोडेका थिए । १९ औं ओभरको खेल सकिंदा चेन्नईले ६ बलमा ६ रन जोड्नुपर्ने भयो जसलाई २० औं ओभरको पहिलो बलमै छक्का प्रहार गर्दै डुप्लेसीले छक्का प्रहार गरेपछि चेन्नई सुपर किंग्स आइपिएल सिजन ११ को फाइनलमा पुग्न सफल बन्यो । 

खेलमा चेन्नईको ८ विकेट लिने क्रममा हैदरावादका रशिद खान, सन्दिप शर्मा र सिद्धार्थ कौलले २/२ विकेट लिए भने भुवनेश्वर कुमारले १ विकेट लिएका थिए । 


खेलमा पराजित बनेको सनराइजर्स हैदरावादले अब बुधबार राति हुने कोलकाता नाइटराइडर्स र राजस्थान रोयल्सबिचको खेलको बिजेता सँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!