क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

Posted on: 18 Jul, 2018

साउन २, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए ।

लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको एकदिवसीय सिरीजका लागि आयोजना भएको बिदाई कार्यक्रममा बोल्दै शक्तिले नेपालले खेल्ने पहिलो एकदिवसीय सिरीज करियरको अन्तिम श्रृखंला हुने बताए ।

१७ वर्षे क्रिकेट करियरमा शक्ति एउटा सशक्त खेलाडीका रुपमा रहदै आएका थिए । शक्तिको बिदाईलाई भब्य बनाउन घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ । सन् २००२ देखि अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पनि प्रहार गरेका छन । विश्वकप छनोटमा इटालीविरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।

सन् २००१ मा यू–१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एसिया कपबाट सुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए । सिंगापुरमा भएको एसीसी ट्रफीमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

नेपाल डिभिजन ५ देखि टी–२० विश्वकप खेल्दा र एकदिवसीय मान्यता पाउँदासम्मका सारथी शक्तिले राष्ट्रिय टिमका लागि सबै प्रेरणादायी प्रदर्शन गर्दै आएका थिए । 

बुवासँग कोलकातामा बस्दा क्रिकेट सिकेका शक्तिको क्रिकेट करियरमा कहिले पनि ओरालो लागेन ।

फिटनेस र बढ्दो उमेरका कारण शक्तिले क्रिकेट करियरलाई बाईबाई भनेका छन । तर पनि उनी क्रिकेटमा सधैँ रहिरहने प्रण पनि  गरेका छन । त्यसका लागि उनी आफ्नो अन्तिम खेललाई सुखद बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!