तालिबानको धम्कीपछि 'लिटिल मेसी'को परिवारले देश छाडे

Posted on: 07 Dec, 2018

मङ्सिर २१, काठमाडौँ | तालिबानको चेतावनीपछि अफगानिस्तानका लिटिल मेसीको परिवार फेरि देश छोड्न बाध्य भएका छन् ।

अफगानिस्तानको आतंकवादी संगठन तालिवानले राजधानी काबुलमा बस्दै आएका लिटिल मेसी भनेर चर्चित मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएको थियो । आतंकवादी संगठनले मार्ने धम्की दिएपछि अहमेदीको परिवारले अफगानिस्तान छाड्ने निर्णय गरेको हो । 


भर्खर सात वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण उनीहरु आफ्नो गाउँमा पनि सुरक्षित नभएको बताएका छन् । सन् २०१६ मा उनीहरु पाकिस्तानमा केहि समयका लागि शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु स्वदेश फर्किएका थिए । सन् २०१६ मा ५ बर्षकै उमेरमा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सोसियल मिडियामा भाइरल भएपछि उनी लिटिल मेसीको नामबाट चर्चित भएका हुन् । 


सामाजिक संजालमा भाइरल भएपछि मुर्तजा अहमेदीलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट समेत पठाएका थिए । सन् २०१६ मा मेसीले कतारको दोहामा भएको मैत्रीपूर्ण खेलका क्रममा मुर्तजालाई भेटेका थिए । उनलाई कतारको खेलमा मेस्सीले नै भेट्न बोलाएका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!