राष्ट्रिय टोलीका कप्तान पारसले दिए राजीनामा

Posted on: 15 Oct, 2019

असोज २८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय टोलीको कप्तान पदबाट आज राजीनामा दिनुभएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्वनबाट फुकुवा भएकामा खुशी व्यक्त गर्दै क्यानको नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको सुधारका पक्षमा रहेको हेर्न चाहेको बताउनुभयो । 

आइसिसीले विस २०७३ वैशाखमा लगाएको निलम्वन हिजो मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको दोस्रो दिन नै पारसले कप्तानी पदबाट राजीनामा दिनुभएको हो । 

“मैले कप्तानको भूमिकाबाट राजीनामा दिने निर्णय गरेको छु”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “नेपाली क्रिकेट नयाँ तरिका र सोचबाट अघि बढ्नका लागि आफूले कप्तान पदबाट राजीनामा दिएको छु ।” 

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुनुहुन्छ । सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गर्नुभएको पारसले सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । 

सन् २००९ मा विनोद दासपछि पारसले कप्तानीको जिम्मेवारी समाल्नुभएको हो । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी टि–ट्वान्टी एलिट कप ट्रफिमा मलेसियाविरुद्ध पहिलो खेलमा उहाँले कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो ।

पारसको कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । त्यस्तै पारसकै कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ मा टि ट्वान्टी विश्वकपसमेत खेलेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!