प्याराग्लाइडिङको सम्भावना बोकेको ‘बाहुनडाँडा’ओझेलमा

Posted on: 03 Feb, 2017

सुशीला रेग्मी/माघ २१, पाल्पा । हिमाल, पहाडसँगै कालीगण्डकी बेसी उपत्यकाको एकै नजरमा अवलोकन गर्न पाइने पर्यटकीय बाहुनडाँडा क्षेत्र प्राकृतिक रुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । रमणीय हरियाली वातावरण रहेको बाहुनडाँडा क्षेत्रमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहे पनि भौतिक पूर्वाधार विकास अभावमा ओझेलमा परेको छ । 

रामपुर नगरपालिका–१० को विकट र दुर्गममा रहेको यस क्षेत्रबाट कालीगण्डकी उपत्यकाको अवलोकन गर्दा कुनै विकसित सुन्दर सहरजस्तो लाग्छ । तर यहाँसम्म पुग्ने मोटरबाटोको स्तरोन्नति हुन नसक्दा यस्ता प्रकृतिले दिएका सुन्दर मनमोहक क्षेत्र ओझेलमा परिरहेका छन् । 

प्याराग्लाइडिङ सञ्चालन गरेर प्रशस्त स्वदेशी तथा विदेशी मुद्रा आर्जन गर्ने सम्भावना छ । तर यस विषयमा स्थानीय निकाय, यस क्षेत्रका राजनीतिक दल, बुद्धिजीवी, सामाजिक व्यक्तिले नै ध्यानदृष्टिले सोच्न पनि सकिरहेका छैनन् । 

नगरपालिकाको बजेट विनियोजन गर्दा पनि सकेसम्म टाठाबाठा व्यक्तिले मात्रै आफूलाई पायक पर्ने स्थानमा मात्र खर्च गर्न जोड गर्छन् ।

नगरवासी भएर पनि यहाँका जनताले न त बिजुलीको सुविधा, न त खानेपानी, न त सडक यातायातको सुविधा भोगचलन गर्न पाएका छन् । एक किलो नुनका लागि पनि दुई घन्टाको पैदल हिँडेर रामपुर बजार नै धाउन बाध्य रहेको स्थानीय बासिन्दा मिनु सिञ्जाली बताउनुहुन्छ । 

यहाँबाट उत्तरतर्फ टल्केका हिमालको दृश्य, स्याङ्जा, तनहुँको रमणीय पहाडी भेग, कलकल बग्ने कालीगण्डकी नदी, तल रमणीय रामपुर उपत्यकाले जो कसैलाई पनि मोहित पारिरहेको हुन्छ । विकासले गति लिन नसक्दा यस्ता प्रकृतिले दिएको प्रचुर सम्भावना पनि खेर गइरहेका छन् । 

यस क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकेको खण्डमा गाउँ र यहाँका जनताले मुहार फेर्ने स्थानीय बासिन्दा सूर्यप्रसाद रेग्मीले बताउनुभयो । नगरपालिकाले पनि यस क्षेत्रमा सम्भाव्यता अध्ययन गरी निकट भविष्यमा प्याराग्लाइडिङ सञ्चालनतर्फ चासो दिएर काम गर्नु जरुरी छ । यस्ता प्रकृतिले दिएका अपार रमणीय क्षेत्रको विकास गर्न सके रामपुर क्षेत्रले मात्र हैन देशले नै छिट्टै फड्को मार्ने थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!