पर्यटकको समस्या बुझ्न ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुदै

Posted on: 01 Jul, 2019

असार १६, काठमाडौँ | सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो ।  

सो एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना घटिहालेमा प्रहरीलाई खबर गर्ने तरिका, पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने व्यवस्था गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । एपमा जनपद प्रहरी रहेको नजिकको स्थानसमेत राखिएको हुँदा पर्यटकलाई थप सहज हुनेछ । 

पर्यटकलाई सुरक्षा र जानकारी दिन एपले सहयोग पुग्ने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेत बताउनुहुन्छ । “एप सञ्चालनसँगै पर्यटकलाई खोजी गर्नसमेत सहज हुन्छ”,उहाँ भन्नुहुन्छ । यस्तै, काठमाडौँ उपत्यकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा पर्यटकलाई सूचना दिन र पर्ने समस्या समाधान गर्न ठमेलमा महानगरीय सूचना केन्द्रको स्थापना गर्न लागिएको छ । 

भ्रमण वर्षलाई सफल बनाउन नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी भृकुटीमण्डपको आयोजनामा काठमाडौँ महानगरपालिका–२६ मा उक्त केन्द्र स्थापना गर्न लागिएको हो । पर्यटक प्रहरीले यसैवर्ष पर्यटकको बढ्दो आगमनलाई मध्यनजर गर्दै काठमाडौँको बौद्ध, तनहुँको बन्दिपुर र चितवनको पटिहानीमा अस्थायी पर्यटक प्रहरी कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!