अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमण, चार जनाको मृत्यु

Posted on: 20 Nov, 2018

मङ्सिर ४, अमेरिका | अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ । 

उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद शुरु गरेको थियो । पछि उसैले त्यहाँ रहेका प्रहरीमाथि गोली प्रहार गरेको थियो । 

गोली लागेर उक्त अस्पतालका दुई जना महिला कर्मचारीको ज्यान गएको थियो । एक कर्मचारीको पार्किङ स्थलमा नै मृत्यु भएको थियो भने अर्की एकजनालाई लिफ्टबाट ओर्लिँदै गर्दा गोली हानेको थियो । 

तर पछि भने सो गोलीकाण्डलाई नियन्त्रणमा लिनको लागि प्रहरीले नै गोलाबारी गर्नु परेको थियो । अस्पतालमा पार्किङ् इलाकामा भएको गोलीकाण्डमा चारजनाको ज्यान गएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

मारिने अर्काे एकजनामा गोली प्रहार गर्ने व्यक्ति नै रहेका छन् । ती व्यक्तिले आफूले आफैलाई गोली हानेका हुन् या प्रहरीको गोली लागेर भन्ने बारेमा भने केही बताइएको छैन । दुई महिला कर्मचारी र एकजना प्रहरी अधिकारीको भने सो व्यक्तिकै गोली लागेर मृत्यु भएको हो । 

स्थानीय समयानुसार सोमवार दिउँसो तीन बजे शिकागोको मर्सी अस्पतालमा यस गोलीकाण्ड भएको थियो । प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाएको थियो । 

सुरक्षाको कारण घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो । अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!