व्यापार युद्धबाट अमेरिकाको अर्थतन्त्र खुम्चियो

Posted on: 16 Mar, 2019

चैत २, वासिङ्टन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ । 

प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । अमेरिकी निर्यातमा पनि ११ प्रतिशतले कमी आएको छ । आयातमा भएको लागत वृद्धिले उपभोक्ता र उत्पादकलाई वार्षिक करिब ६९ अर्ब डलर नोक्सान भएको छ । 

आयात र निर्यातको गणनाबाट गत वर्ष कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को शून्य दशमलब शून्य ४ प्रतिशत अर्थात् करिब ७ अर्ब ८० करोड डलर नोक्सान भएको अनुसन्धाताहरुले बताएका छन् । 

आर्थिक अनुसन्धान राष्ट्रिय ब्यूरोले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले राष्ट्रपति ट्रम्पले चीन समेतका कतिपय मुलुकसँग रहेको व्यापार घाटा कम गर्न जस्तोसुकै कदम चाल्ने ट्रम्पको घोषणाले अमेरिकी र विश्व अर्थतन्त्र खुम्चिने देखिएको जनाएको छ । 

अमेरिकी म्यानुफ्याक्चरिङ क्षेत्रलाई बचाऊ गर्ने नाममा राष्ट्रपति ट्रम्पले संरक्षणवादी व्यापार नीति अबलम्बन गरेको आरोप लाग्दै आएको छ । वासिङ्टन र बेइजिङबीच एकअर्का मुलुकका सामानमा करवृद्धि गरिएको भएपनि अन्ततः व्यापार विवाद सुल्झाउन हाल वार्ता जारी छ । 

अमेरिकाले चीन मात्र नभई युरोपेली युनियन र अरु प्रमुख व्यापारिक साझेदार मुलुकमाथि करवृद्धि गर्ने तथा आयात रोक्नेजस्तो कठोर कदम चालेको छ । “अमेरिकाकै रिपब्लीकन पार्टी विजयी भएकै राज्यहरुमा व्यापार युद्धले बढी असर पारेको छ,” अनुसन्धानमा देखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!