भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

Posted on: 23 Mar, 2019

चैत ९, रियो डि जानेरो | भ्रष्टाचारको आरोपमा पक्राउ पर्नु भएका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गर्नुभएको छ । 

बयान लिनका लागि उहाँलाई सोधिएका प्रश्नहरुमा उहाँले मौन बसेर कुनैपनि प्रश्नको उत्तर नदिनु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । 

आफूमाथी लागेको आरोप अस्विकार गर्दै आउनु भएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो, भने शुक्रबार उहाँसँग बयान लिने प्रयास गरिएको थियो । 

प्रश्नहरुको उत्तर नदिने उहाँको निर्णयलाई “मौन बस्न पाउने अधिकार”को अभ्यासका रुपमा लिइएको छ । 

उहाँले पक्राउ परेपछिको रात संघीय प्रहरी मुख्यालयको हिरासत कक्षमा विताउनु भएको अधिकारीहरुले जनाएका छन् । उहाँलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको थियो । 

राजनीतिकर्मी र कर्मचारीतन्त्रका बिचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । 

पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बन्नु भएको थियो । पदमा बहाल रहेकै बेला उहाँलाई भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त हुनुभएको थियो । 

उहाँलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । यस्तै आरोप अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!