इन्डोनेसियामा ६.८ म्याग्नीच्यूडको भूकम्प, २० पटक गयो पराकम्प

Posted on: 13 Apr, 2019

चैत ३०, जकार्ता (रासस-एएनआई) | इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तलाई केन्द्रमा राखेर शुक्रबार अपराह्न गएको ६.८ म्याग्नीच्यूडको भूकम्पपछि कम्तीमा २० वटा परकम्प गएको छ । 

इन्डोनेसियाको जलवायू तथा भौगर्भिक विभागले निकै ठूला परकम्पहरु एकपछि अर्को आएका र त्यसले जनजीवन त्रस्त बनाएको जनाएको छ । तीमध्ये सबैभन्दा ठूलो परकम्प ५.६ म्याग्नीच्यूडको थियो भने सबैभन्दा कमजोर परकम्प ३.४ म्याग्नीच्यूडको रहेको थियो ।

भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी जारी गरिएको थियो । 

सुलावेसी क्षेत्रमै गत सेप्टेम्बरमा गएको शक्तिशाली भूकम्प र सुनामीबाट कम्तीमा चार हजार ३४० जनाको ज्यान गएको थियो । करिब ७.५ म्याग्नीच्यूडको त्यस भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणको कार्य अझै जारी छ । यस भूकम्पबाट खासगरी सुलावेशीका पालु र डोङ्गाला शहर सर्वाधिक प्रभावित थिए ।

सन् २००४ को डिसेम्बरमा सुमात्रा द्वीपलाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट हिन्द महासागरमा विनाशकारी सुनामी गएको थियो । यस सुनामीबाट भारत र श्रीलंका समेतका एक दर्जन मुलुकका दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!