अपहरणको पाँच वर्ष भयो ११२ बालिका अझै घर फर्किएनन्

Posted on: 14 Apr, 2019

वैशाख १, चिबोक, नाइजेरिया (रासस/एएफपी) | नाइजेरियाको चिबोक भन्ने ठाउँबाट पाँच वर्ष अघि अपहरणमा परेका ११२ जना बालिका अझै आफ्नो घर फर्किएका छैनन् ।

उनीहरुलाई नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको र त्यस देशद्धारा आतङककारी घोषित बोको हराम नामक समूहले विद्यालयबाटै अपहरण गरेको थियो । 

उनीहरुका बाबुआमा तथा आफन्तहरु ती बालिका घर फर्किने आशमा अहिले पनि सुरक्षा निकाय र सरकारी अधिकारीहरुकहाँ धाइरहेका छन् तर उनीहरु घर फर्किने सूचना भने अहिलेसम्म पनि पाएका छैनन् । 

उत्तरपूर्वी नाइजेरियामा हिंसात्मक हमलाहरु गरिरहेका बोको हरामहरुले सो क्षेत्रबाट विद्यालयका बालबालिकालाई अपहरण गरेर लाने र उनीहरुलाई जबर्जस्ती बन्दुक बोकाई हिंसात्मक काममा लगाउने गरेका छन् । 

चिबोकको बालिकाहरुमात्र पढ्ने विद्यालयबाट सन् २०१४ अप्रिल १४ मा उनीहरुलाई बोको हरामले अपहरण गरेका थिए । अपहरणमा परेका ती बालिकाको अवस्था अभैm पनि अज्ञात नै रहेकोले उनीहरुका परिवारमा निकै तनाव उत्पन्न भएको छ । 

त्यस दिन सो विद्यालयबाट उनीहरुले २७६ जना बालिकालाई अपहरण गरेका थिए । उनीहरु १२ देखि १७ वर्ष उमेरका थिए । 

ठूलो संख्यामा आएका सशस्त्र हमलाकारीहरुले विद्यालयलाई घेरा हाली उनीहरुलाई अपहरण गरी लगेका थिए । त्यस दिन अपहरणमा परेपछि पनि ५७ जना बालिका भने ट्रकबाट हामफालेर भाग्न सफल भएका थिए । 

ती बालिकालाई घर फिर्ता गर्ने विषय नाइजेरियाको गत वर्षको आम निर्वाचनको पनि ठूलो मुद्धा बनेको थियो । 

नाइजेरियाका वर्तमान राष्ट्रपति मोहम्मदु बुहारीले राष्ट्रपतीय निर्वाचनमा यस विषयलाई मुख्य एजेण्डा नै बनाउनुभएको थियो । 

उहाँले आफूले निर्वाचन जितेमा अपहरित ती बालबालिकालाई अपहरणमुक्त गरी घर फर्काउने बाचा नै गर्नुभएको थियो ।   

तर गतवर्ष बोको हरामहरुसँग भएको वार्ताको क्रममा सरकारले केही बालिका फिर्ता गराएको थियो । ती बालिकाहरु पनि बोको हरामका बन्दीहरुसँग बन्दी साटासाटजस्तो गरी अपहरणमुक्त गरिएको थियो ।

यसरी अहिलेसम्म २७६ बालिकामध्ये १०२ मात्र मुक्त भएका छन् भने अझै पनि ११२ जना भने बोको हरामकै अपहरणमा रहेका छन् । 

ती बालिकालाई अपहरणमुक्त गर्न आफूले सक्दो प्रयास गरेको सरकारले जनाएको छ । तर उनीहरुक आफन्तले भने सरकारले चाहेमा उनीहरु मुक्त हुनसक्ने बताउँछन् ।

आफ्ना छोरीहरु जिवीतै छन् कि मारिए भन्ने बारेमा पनि उनीहरुका बुबाआमालाई थाहा छैन । तर पनि आफ्ना सन्तान घर फर्किने आशमा उनीहरु रहेका छन् । 

यस विषयमा बोको हरामले पनि केही बताएको छैन । तर सुरक्षा निकायहरुले भने ती बालिकालाई बोको हराम समूहले आफ्नो सैन्य समूहमा लगाएको अनुमान गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!