जेट एयरवेजका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

Posted on: 18 Apr, 2019

बैशाख ५, काठमाडौं | भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगित गरेको छ । 

इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान सुरु गर्ने आशा पनि व्यक्त गरेको छ ।

कम्पनीमाथि एक अर्ब २० करोड ऋणको बोझ छ र हप्तौंदेखि ऋणदाताको खोजीमा कम्पनी रहेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा ऋणदाताको खोजी भइरहेको तर अपेक्षित नतिजा प्राप्त भइनसकेको जनाएको छ । 

भारत सरकारले जेट एयरवेजको योजनामा लगानीका सम्भावना पहिल्याउन राज्य सञ्चालित बैंकहरुलाई अनुरोध गरिसकेको छ । यस कम्पनीमा अहिले २३ हजारले रोजगारी पाएका छन् । जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका थिए । उनले गएको महिना अध्यक्षको पदबाट राजीनामा दिएका थिए ।

कम्पनीका पाइलट, इन्जिनियर र ग्राउन्ड कर्मचारीले महिनौंदेखि तलब सुविधा पाउन सकेका छैनन् । विमान सेवाको स्थगनसँगै टिकट लिइसकेका विश्वभर हजारौं यात्रु अलपत्र परेका छन् । 

बुधबार राति स्टेट बैंक अफ इन्डियाले जेट एयरवेजलाई पत्र पठाई अल्पकालीन ऋण उपलब्ध गराउन नसकिने सूचना दिएको छ ।

एयरलाइन्सले भनेकाे छ “ऋणदाताबाट कुनै पनि किसिमको आपतकालीन वा दीर्घकालीन लगानीको सुनिश्चिचता नभएकाले इन्धन वा अरु दैनिक कार्यसञ्चालनका लागि रकम अभाव भएको छ । त्यसैले तत्काल लागू हुने गरी जेट एयरवेज सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडान रद्द गर्न बाध्य भएको छ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!